बि.पी. स्मृति पार्क

धरान-१३ फुस्रेमा रहेको बि.पी. स्मृति पार्क एक रमणीय गन्तब्य हो | पार्क प्रवेश गर्नु अगावै फुस्रे चौकमा रहेको चौतारी तथा जेष्ठ नागरिक बिश्रामलयमा फुस्रेको प्राचिन इतिहास झल्काउने ब्यापारी तथा भरियाको मुर्तीहरु अवलोकन गर्न सकिन्छ | साथै यस बिश्रामलयमा लोपोन्मुख बिभिन्न घरेलु औजारहरुको लाघुरूप (miniature) पनि संग्रह गरेर राखिएको छ |  सर्दुको किनारमा रहेको यस पार्कमा महामानव बि. पी. कोइरालाको पूर्ण कदको शालिक रहेको छ | पंचायती कालखण्डमा तत्कालिन सरकारले बि.पी. कोइरालालाई बिराटनगरबाट पक्राउ गरी यही बाटो हुदै हिडाएर सागुरीगढ़ी, धनकुटा, सिन्धुली हुदै काठमाण्डौ लागेको हुनाले उहाको स्मृतिमा बि.पी पार्कको स्थापना गरिएको हो | यहाँ रहेको पुललाई फ्लावर ब्रिजको रुपमा सृंगार गरिएको छ | खोलामा रहेको ठुला ढुंगाहरुमा नाग, हास, बाघको आकृति कुदिएको छ | बर्षातको मौसममा खोलामा पानी खेल्न धेरै धरानेहरु यहाँ पुग्ने गर्दछन | 

पार्कमा वाल-वालिकाको लागी पिंग, चिप्लेटी जस्ता खेल सामाग्रीहरु पनि रहेका छन | पार्क छेउमा रहेको ओशो ध्यान केन्द्र पनि यहाँको अर्को आकर्षण बिन्दु हो | ध्यान केन्द्रमा हरेक दिन बिहान बेलुका ओशो बिधिद्वारा ध्यान गराउने गरिन्छ | ध्यान केन्द्रमा रहेको पुस्तकालयमा ओशो साहित्यको अध्ययन पनि गर्न सकिन्छ | 

यस पार्कमा प्रवेश निशुल्क रहेको छ | भानुचौकदेखी सिधै उत्तरमा रहेको यस पार्कमा भ्यान, स्कोरपियो, टेम्पो तथा बाइक, स्कुटीमा सहज रुपमा पुग्न सकिन्छ | 

यस पार्कदेखी हाइकिंग गर्दै पश्चिमतर्फ जाने हो भने चिंडे  डाँडासम्म पनि पुग्न सकिन्छ |

×