.jpeg)
ब्रिटिश गोर्खा स्मृति पार्क
धरान-२० भन्ज्यांग नजिक माछामारा डाँडामा रहेको ब्रिटिश गोर्खा स्मृति पार्क धरानमा रहेका भुपु ब्रिटिश गोर्खा सैनिकहरुको समुहले स्थापना गरेको हो पार्क हो | भानुचौकबाट ९ किमी पश्चिम उत्तर सर्दु खोला पार गर्दै यात्रा गर्ने हो भने सहजै पार्कसम्म पुग्न सकिन्छ | पार्क बस, भ्यान, टेम्पो, बाइक, स्कुटीको सहज यात्रामा पुग्न सकिन्छ, पार्कसम्म पक्की बाटो नभए पनि कच्ची बाटो राम्रो अवस्थामा नै रहेको छ | यो पार्क बाह्र बिघाहा क्षेत्रफलमा फैलिएको छ, समुद्री सतहबाट ७१० मिटर उचाइमा रहेको यस स्थानबाट धरान बजार, महाभारत पर्वत सृंखला, चिंडे डाँडा, तराइका फाटहरु , चारकोसे झाडी, कोशी नदीको अवलोकन गर्न सकिन्छ | पहिलो-दोश्रो विश्व युद्धदेखी सैनिक सेवामा रहेका र बिभिन्न युद्धमा आफ्नो जीवन बलिदान चढाएका सम्पूर्ण ज्ञात-अज्ञात वीर गोर्खालीको सम्झना अनि सम्मानमा यो पार्कको स्थापना गरिएको हो |
पार्कको मध्य भागमा दश फिट अग्लो अज्ञात सिपाहीको शालिक निर्माण गरिएको छ | यो शालिक ती तमाम गोर्खालीहरुमा समर्पित छ जस्ले आफ्नो ज्यानको वली चढाएर नेपाललाई पुरा विश्व सामु वीरहरुको देशको रुपमा चिनाए | बिभिन्न युद्धका क्रममा वीरगती प्राप्त गरेका गोर्खालीहरुलाई फ्रान्स, जर्मनी, हंगकंग, मलेसिया, सिंगापुरमा पनि समाधिस्थ गरिएको थियो | त्यहाका समाधिस्थलहरुबाट माटो ल्याएर यस शालिकको भूगर्भमा तामाको गाग्रो बनाई त्यसमा राखिएको छ |
पार्क हरेक दिन बिहान ८:०० बजे देखी बेलुकी ७:०० बजेसम्म खुल्ला रहने गरेको छ | पार्कमा प्रवेशको लागी प्रति व्यक्ति रु ३०/- प्रवेश शुल्कको व्यवस्था गरिएको छ | पार्कमा हाल चार वटा बनभोज खान मिल्ने छहारीको व्यवस्था गरिएको छ | पार्क परिसरमा कमलको फुल, सानो पोखरी, पोखरी माथी पुल तथा अन्य चार सिपाहीको शालिक निर्माण गरीएको छ | यहाँ हेलिप्याड, कार पार्क, चमेना गृह, शौचालयको सुविधा पनि उपलब्ध छ | पार्कमा सुविधासम्पन्न आवासको व्यवस्था पनि रहेको छ | यहाँ आठ वेड क्षमताको चार वटा कोठाहरु उपलब्ध छन |
.jpeg)
