
बुढासुब्बा मन्दिर (Budhasubba Temple)
विजयपुर डाडामा अवस्थित बुढासुब्बा मन्दिर धरानेहरुको आस्थाको महत्वपूर्ण केन्द्र हो | प्राचिन समयमा शिकारी दाजु बहिनि शिकार गर्दै जाँदा यही स्थानमा समाधी लिएको र उक्त समाधि स्थललाई नै बुढासुब्बाको मन्दिर र यसका छेवैमा बहिनीको पनि मन्दिर स्थापना भएको मानिन्छ |
तिनै शिकारीले मन्दिर परिसरमा छाडेको बाँसको गुलेलीबाट बाँस उम्रिएको हुँदा यहाँका बाँसमा टुप्पो पाइदैन | साथै मन्दिर परिसरमा काग पनि उडेको पाइदैन भन्ने जनविश्वास छ । किरात राजा बुद्धिकर्णको समाधीको विश्वास रहेको यस मन्दिरमा धरानेहरुलाई कुनै आपत पर्दा वा कुनै काम फत्ते गर्नु पर्दा भाकल राख्ने गर्दछन अनि आफ्नो काम फत्ते भए पश्चात कुखुरा वा सुंगुरको पशुवली चढाउने गरिन्छ| यहाँ निशान देवी पुजामा पन्चबली तथा पन्चधातु राखेर बिशेष पुजा पनि गर्ने गरिन्छ | पन्चबलीमा कुखुरा, सुंगुर, राँगा, बोका, माछाको बली दिएँ गरिन्छ | मन्दिरमा बिशेषत मंगलबार, शनिबार, अष्टमी, नवमी, उधौली, उभौली, नौरथा (दशैको नवरात्रीमा) भक्तजनहरुको घुइचो लाग्ने गरेको छ | यहाँ सोह्र श्राद्ध, श्रावण महिना, बुद्ध जयन्ती, शिवरात्री, कृष्ण अष्टमी, राम नवमी, स्वस्थानी साङ्गे एकादशी, औसी, पुर्णिमाको दिन वली पुजा गरिदैन | भगवानलाई अन्डा, सिन्दुर, फुल अक्षता, रक्सी, बिडी, सुपारी, पान चढाउने गरिन्छ | बुढासुब्बा मन्दिर नजिकै रहेको सुब्बिनिको मन्दिरमा पोथी कुखुराको बली तथा अण्डा पनि चढाउने गरिन्छ | यहाँ बली पश्चात उक्त कुखुराको मुटु कलेजोबाट जोखोना पनि हेर्ने गरिन्छ |
धेरै समय अघि यहाको बासमा प्रेमी-प्रेमिकाको नाम लेख्ने तथा यसरी नाम लेखेमा त्यो प्रेम सफल हुने विश्वास रहेको थियो | आजकल बासको सुरक्षाको लागि यस वरपर गरेको तारबारमा डोरीको माला बाध्ने प्रचलन विकसित भएको छ |
इतिहासकार इमानसिंह चेम्जाङले बुढासुब्बा मन्दिरलाई तत्कालिन मोरंगका अन्तिम राजा बुद्दिकर्ण रायका समाधिस्थल भनेका छन।

.jpeg)

.jpeg)
.jpeg)